यस्ता थिए प्रचण्डका छाेरा प्रकाश दाहाल - Naya Patrika
eNaya Patrika
  • ePaper

यस्ता थिए प्रचण्डका छाेरा प्रकाश दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालका छोरा प्रकाश दाहालको निधन भएको आज पाँच दिन भयो । गत आइतबार हृदयाघातका कारण निधन भएका प्रकाशको १३औँ दिनको कर्म दाहाल परिवारले आजै श्रद्धाञ्जली सभा गरेर टुंग्याउँदै छ ।

प्रकाशको जीवनलाई फर्किएर हेर्दा धेरै पाटा भेटिन्छन् । उनको खास पाटो राजनीति नै हो । १९ वर्षको उमेरदेखि बाबु र परिवारसँगै युद्धमा होमिएका उनले सधैँ प्रचण्डको सचिवालयमै रहेर काम गरे । युद्धमा उनी जनमुक्ति सेना नै थिए । ०५७ मा पार्टीको पूर्णकालीन सदस्य बनेका थिए ।

१७ असार ०३८ मा चितवनमा जन्मिएका प्रकाशले १२ कक्षा सम्मको पढाइ भारतको पन्जाबबाट पूरा गरे । पढ्दै गर्दा माओवादी युद्ध उत्कर्षमा पुगेपछि उनी पढाइ बिट मारेर बन्दुक समाउन हिँडेका थिए । बाबु प्रचण्डको सचिवालयमा खटिनुअघि जनमुक्ति सेनाको तालिम लिए, हतियार चलाउन सिके । उनको तत्कालीन भूमिकाको माओवादी वृत्तमा अहिले पनि चर्चा हुन्छ ।

पार्टी शान्ति प्रक्रियामा आएपछि पनि अध्यक्ष प्रचण्डको स्वकीय सचिवको भूमिकामा रहे । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवको भूमिका सफलतापूर्वक निभाए । पछिल्लो समय सचिवालयलाई चुस्त बनाएको जस प्रकाशलाई मिलेको थियो । भेटघाटलगायत सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित बनाउन अहोरात्र खटिएका थिए । सचिवालयमा भए पनि उनले नेताको छोरो भएको घमण्ड नदेखाएको नजिक रहेर काम गर्नेहरू बताउँछन् । पछिल्लो समय सरल, मिजासिला र जिम्मेवारी बोध गर्ने परिपक्व नेताजस्तो बनेको चर्चा धेरैले गरेका छन् । चार सन्तानमा कान्छा प्रकाशका तीन दिदीमध्ये जेठी ज्ञानुको पनि चार वर्षअघि क्यान्सरका कारण निधन भएको थियो ।

अध्यक्षको सचिवालय र दाहाल परिवारमा प्रकाशको भूमिका

नारायण दाहाल
माओवादी नेता तथा प्रकाशका काका

प्रकाश, प्रचण्डको छोराको रूपमा मात्र थिएन । प्रचण्डको राजनीतिक हाइट, उहाँको कामअनुसार स्वकीय सचिवले गर्नुपर्ने भूमिका कुशल र व्यवस्थित तरिकाले निर्वाह गरिरहेको थियो ।

यति मात्र होइन, स्वकीय सचिव भए पनि उसले प्रचण्डको सुरक्षामासमेत उत्तिकै जिम्मेवारी निभाएको थियो । प्रचण्डको सुरक्षा संवेदनशीलतालाई राम्रोसँग बुझेको थियो । दोस्रो प्रधानमन्त्री कार्यकालमा स्वकीय सचिवका रूपमा रहेर उसले प्रचण्डको राजनीतिक र व्यक्तिगत जीवनलाई व्यवस्थित बनाएको थियो । प्रचण्डलाई सफल बनाउन उसको विशेष भूमिका थियो । पछिल्लो समय आफूलाई निकै परिपक्व नेताको रूपमा प्रस्तुत गरिरहेको थियो । मुख्य जिम्मेवारीमा कुनै ‘कमेन्ट’ गर्ने ठाउँ नै थिएन । अध्यक्षलाई पनि ऊमाथि ठूलो भरोसा थियो ।

प्रकाशको निधनले अध्यक्ष प्रचण्ड, हाम्रो परिवार र सिंगो पार्टीलाई ठूलो धक्का पुगेको छ । आफ्नै छोरा र स्वकीय सचिवसमेत भएकाले विशेषगरी प्रचण्डलाई नै गम्भीर धक्का लागेको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा यो घटनाले माओवादी आन्दोलनको मुख्य नेतृत्वलाई गम्भीर असर पुगेको छ ।

प्रकाश युवामाझ लोकप्रिय हुँदै थियो । यो पुष्टि उसको अन्त्येष्टिको दिन उपस्थित युवा र सामाजिक सञ्जालमा व्यक्त विचारले देखाउँछ । सामाजिक सञ्जालमा उसका १२ लाख फलोअर्स थिए ।

यसैगरी, ऊभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका राजनीतिक व्यक्तिहरूसँग परिपक्व तरिकाले डिल गर्ने र अध्यक्षसँगको सम्न्ध कायम राख्न सक्ने क्षमता विकास भएको थियो । बाबुबाट राजनीतिक अनुभव सँगाल्दै थियो । यसरी हेर्दा ऊ अध्यक्षको असल कार्यकर्ता, असल छोरा र असल साथीको रूपमा थियो ।

पहिले कहिलेकाहीँ विवादमा परिरहन्थ्यो, तर करिब एक वर्षमा ऊभित्र निकै परिपक्वता आएको थियो । ठूली दिदीको निधनपछि परिवार र आफन्तका लागि परिपक्व सहयोगीको रूपमा आफूलाई उभ्याएको थियो ।

माओवादी भएरै मर्ने रहर

दीपेश पुन
उपाध्यक्ष, अखिल क्रान्तिकारी

म उहाँको कान्छो भाइ
प्रकाश दाइसँग मेरो भेट ०६० तिर भएजस्तो लाग्छ । जनयुद्धको त्यो वेला ठ्याक्कै भेट भएको मितिचाहिँ सम्झना भएन । माओवादी हेडक्वार्टर रोल्पा रुकुमतिर सरेको वेला थियो, त्यो । उहाँसँग मेरै घरमा पहिलो भेट भयो । हामीबीच पारिवारिक सम्बन्ध नै रह्यो । उहाँका बाबु प्रचण्ड पार्टी अध्यक्ष र मेरा बाबु (नन्दबहादुर पुन) जनमुक्ति सेनाका कमान्डर रहेका वेला भेट भएको थियो । त्यसैले पनि होला, सम्बन्ध प्रगाढ भयो, त्यतिखेरै ।

उहाँले मलाई ‘मेरो कान्छो’ भन्नुहुन्थ्यो । मतलब, मेरो कान्छो भाइ होस् भन्नुहुन्थ्यो । मलाई पनि आफ्नै दाइजस्तै लाग्थ्यो । गएको दसैँमा मलाई टीका लगाइदिन दाइले उहाँको घरमै बोलाउनुभएको थियो । सँगै टीका पनि लगायौँ ।

पार्टीको तल्लो तहमा काम गर्न चाहनुहुन्थ्यो
जनयुद्धको समयमा पनि हाम्रो राम्रो सम्बन्ध थियो । उहाँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो । आफ्नै बाबुको सुरक्षामा खटिनुभएको थियो । उहाँ र मेरो स्वभाव धेरै नै मेल खान्थ्यो । पार्टीमा काम गर्दा ‘ग्राउन्ड’मा रहेर जनताको सेवा गर्ने मेरो स्वभाव उहाँको स्वभावसँग मिल्छ । जनताको आँगनमै गएर खटिने उहाँको चाहना म बुझ्थेँ । तर, उहाँले यो अवसर पाउनुभएन । अध्यक्षकै सचिवालयमा खटिनुप¥यो । तर, हेडक्वार्टरमा रहे पनि उहाँ ग्राउन्ड रिपोर्टिङ भने लिनुहुन्थ्यो । जनताको बुझाइ कस्तो छ भन्ने सवाल मलगायत साथीमार्फत लिनुहुन्थ्यो । पार्टीका माथिल्ला निकायमा भइरहेका निर्णय मलाई पनि उहाँले जानकारी गराउनुहुन्थ्यो ।

उहाँका बुबा (प्रचण्ड) पार्टी अध्यक्ष र मेरा बुबा (नन्दबहादुर पुन) जनमुक्ति सेनाको कमाण्डर भएकाले पनि युद्धकालदेखि नै हाम्रो सम्बन्ध गाढा हुँदै आयो । पछिसम्म आउँदा उहाँले मलाई कान्छो भाइको स्थान दिनुभएको थियो ।

भनिने र देखिने फरक प्रकाश
उहाँ खासमा सरल र मिलनसार हुनुहुन्थ्यो । माओवादी आन्दोलनप्रति निष्ठावान् हुनुहुन्थ्यो । बाहिर मिडियाले प्रचार गरेजस्तो ‘बेइमान’ हुनुहुन्नथ्यो । बाहिर भनिने र भित्र देखिने प्रकाश दाइ ठ्याक्कै उल्टो हुनुहुन्थ्यो । कतिपयले उहाँको व्यक्तित्व धुमिल्याउन कोसिस गरे ।

जनयुद्धका घाइते, अपांग, सहिद र वेपत्तापरिवारप्रति अत्यन्तै सहानुभूति राख्नुहुन्थ्यो । उनीहरूको चित्त बुझाउन पाए हुन्थ्यो, भन्नुहुन्थ्यो । उहाँहरूको पीडामा चिन्तित हुनुहुन्थ्यो ।

पछिल्लो समय बदलिएको व्यक्तित्व
पहिलेको तुलनामा पछिल्लो समय उहाँमा धेरै परिवर्तन मैले महसुस गरेँ । अध्यक्षको सचिवालय व्यवस्थापन राम्रो बनाउनुभएको थियो । सचिवालय व्यवस्थापन मात्रै होइन, परिपक्व नेता भइसकेको महसुस हुन्थ्यो । अध्यक्षको सचिवालयलाई पारदर्शी बनाउन सूचना प्रविधिको राम्रो प्रयोग गर्नुभएको थियो ।

मिडियामा कस्ता विषय बाहिर ल्याउने, कस्ता विषय सार्वजनिक नगर्ने भन्ने परिपक्वता थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि व्यवस्थापनमा दक्ष हुन थाल्नुभएको हो । तर, उहाँ ‘मलाई सांसद, मन्त्री हुने कुनै लोभ छैन, अध्यक्षको सचिवालयलाई व्यवस्थित बनाएर उहाँको राजनीतिलाई सफल बनाउने नै मेरो सोच हो’ भन्नुहुन्थ्यो ।

पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो
उहाँ माओवादी भएरै मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो । माओवादीप्रति एक किसिमको सद्भाव थियो । सानै उमेरदेखि माओवादीमा जोडिएकाले पनि यस्तो लाग्न सक्छ । ०५७ देखि लाग्नुभएको हो क्यारे । पार्टी एकताको चर्चा चल्दा सुरु–सुरुमा खुसी हुनुहुन्नथ्यो । पछिल्लो समय तनाव भएजस्तो कुरा पनि गर्नुहुन्थ्यो । निर्वाचनपछि पार्टीको अवस्था कस्तो हुने हो भन्ने कुरामा बढी चिन्तित हुनुभएको थियो । मसँग कुरा गर्दा पटक–पटक यस्तो चिन्ता दोहोर्‍याउनुभएको थियो । मलाई त माओवादी नै भएर मर्ने रहर हो पनि भन्नुभयो । तर, पछि एउटा कुराले ‘कन्भिन्स’ हुनुभएको थियो । समाजवादी क्रान्ति हुने हो भने, सम्पूर्ण मजदुर किसान सर्वहारा जनताको हित हुन्छ भने पार्टी एकता गर्दा हुन्छ भन्न थाल्नुभएको थियो ।

पहिलो भेटमै भन्नुभयो हामी साँच्चिकै दाहाल दाजुभाइ

अनिश दाहाल
एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव

त्यो ठट्टाले आज घोच्छ
पार्टी अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि डेढ वर्षदेखि म उहाँको सचिवालयमा सक्रिय छु । उहाँको राजीनामालगत्तै आयोजित एउटा सार्वजनिक कार्यक्रममा प्रकाश दाहालसँग मेरो पहिलो भेट भएको थियो । त्यो भेटमा हामीबीच प्रकाश र अनिश दाहालका रूपमा सामान्य औपचारिक चिनजान भयो । पहिलो भेटमै दाहाल शब्दले हामी भावानात्मक रूपमा नजिकियौँ । उहाँले परिचयकै क्रममा ठट्टा गर्दै भन्नुभयो– दाहाल भएर तपाईं कहाँ त्यता (एमाले)मा बसिराख्नु भा’को, यता(माओवादी केन्द्र) आउनुपर्‍यो । उहाँको त्यो शब्दले आत्मीय रूपमै पारिवारिक सम्बन्ध स्थापित भएजस्तो अनुभूति गरायो, मलाई ।

त्यसो त मैले पनि उहाँको शब्द भुईंमा खस्न नपाउँदै जवाफ फर्काएँ– म त्यता आउने होइन, बरु हामी (एमाले–माओवादी केन्द्र) दुवै एक हुनुपर्छ, विचार र व्यवहार मिल्छ भने को आउने–जाने प्रश्नै हुन्न नि होइन र ? नभन्दै हामी (एमाले र माओवादी केन्द्र) साँच्चै डेढ महिनादेखि एक भइसकेका थियौँ । तर, दुर्भाग्य ! उहाँ अहिले हामीबीच हुनुहुन्न । मलाई त्यो पहिलो भेटको आत्मीय संवादयतिवेला कानमा गुन्जिराखेको छ । कताकता भित्र नमीठोसँग चिमोटेजस्तो अनुभूति हुन्छ ।

रवाफ र दम्भ कहिल्यै देखिनँ
त्यो कार्यक्रममै फोन नम्बर साटासाट गर्‍यौँ । त्यसपछि दुवै पार्टी अध्यक्षको भेटघाट र सार्वजनिक कार्यक्रमका विषयमा हामीबीच निरन्तर संवादहुन थाल्यो । प्रचण्ड प्रधानमन्त्री बनिसकेपछि बालुवाटारका औपचारिक र अनौपचारिक बैठकहरूमा हामीबीच बाक्लै भेटघाट हुँदै गयो । दुई नेताबीचको भेटघाटको समय व्यवस्थापन गर्नुपर्दा मैले उहाँबाट प्राप्त सहयोगले धेरै सहज महसुस गर्न थालेँ । जुनसुकै अवस्थामा पनि उहाँ फोन उठाउनुहुन्थ्यो । बैठकमा व्यस्त रहेको अवस्थामा पनि फोन उठाएर केही मिनेटमै ‘कल ब्याक’ गर्नुहुन्थ्यो । उच्चस्तरीय बैठकमा दुई नेताहरू बालुवाटारमा भित्र कोठामा छलफल गर्नुहुन्थ्यो, हामी भने अनौपचारिक रूपमा बाहिर गफिन्थ्यौँ ।

दोस्रो भेटमै मलाई उहाँले भित्रै बोलाएर सम्मानपूर्वक राख्नुभो । अनि प्रस्ताव गर्नुभो– हामी दुवै दाहाल के कमरेड भन्ने ? म अबदेखि तिमीलाई भाइ भन्छु । त्यही भेटदेखि हाम्रो सम्बन्ध दाजुभाइकै रूपमा अगाडि बढ्यो । दुई अध्यक्षबीच भेटघाट र कुराकानी नहुँदा पनि हामीबीच निरन्तर संवादहुन्थ्यो । प्रधानमन्त्री निवास बालुवाटार जाँदा पनि उहाँले ‘रिसिभ’ गरेरै भित्र लानुहुन्थ्यो । चिया खाजा खुवाउनुहुन्थ्यो । कतिपयवेला त खाना खुवाएर मात्रै पठाउने गर्नुहुन्थ्यो । यसरी छोटो समयमै मैले उहाँलाई घुलनशील, आत्मीय सम्बन्ध स्थापित गर्ने, ‘लो प्रोफाइल’मा बस्ने व्यक्तित्वका रूपमा चिन्ने मौका पाएँ । उहाँमा दम्भ देखाउने, शक्तिको अभ्यास गर्ने, रवाफ देखाउने केही पनि नकारात्मक प्रवृत्ति मैले कहिल्यै महसुस गरिनँ ।

हरेक विषयलाई सहज ठान्ने बानी
कुनै पनि विषयलाई कहिल्यै ‘सिरियस्ली’ लिनुहुन्नथ्यो । कहिलेकाहीँ राजनीतिक प्रसंगमा यो कुराले दुवै अध्यक्षलाई समस्या पार्छ । अप्ठ्यारो स्थिति आउँछ, त्यसमा यस्तो गर्दा उपयुक्त हुन्छ भन्ने सुझाब राख्यो भने उहाँ जहिले पनि भन्ने गर्नुहुन्थ्यो– हैट ! के टेन्सन लिएको, त्यस्ता कुरा त मिलिहाल्छ नि ! हरेक कुरालाई सहज रूपमा लिने विशेषता थियो । मैले भेट्दा उहाँलाई गम्भीर मुद्रामा कहिल्यै देखिनँ । शीर्ष बैठकहरूमा भानु देउवाजी (प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव), प्रकाश दाइ, जोगबहादुर महरा सरलगायत एकै ठाउँमा जम्मा हुँदा यदाकदा राजनीतिक विषयका प्रसंगहरू आउँथे । त्यो वेला पनि उहाँ राजनीतिका कुराहरू के गर्ने भन्दै रमाइलोतिर प्रसंग बदल्नुहुन्थ्यो । कहिल्यै तनाव नलिने दाइको निधन ‘हृदयाघात’बाट भयो भन्दा आश्चर्यचकित छु । मान्छेको निधन लेखेकै पो हुन्छ कि जस्तो पनि अनुभूति भएको छ, मलाई ।

दाइसँग मेरो अन्तिम संवाद
उहाँको निधन हुनुभन्दा ठीक तीन दिनअघि विहान ११ बजेतिर हाम्रो संवाद भएको थियो । त्यो नै अन्तिम संवाद भयो । मैले भनेको थिएँ– दाइ के छ हालखबर, तपाईं यता (झापा) तिरको कार्यक्रममा किन आउनुभएन, कता हनुुहुन्छ ? उहाँले जवाफ फर्काउनुभएको थियो, ‘भाइ अवस्था तिमीहरू (एमाले)को जस्तो सहज छैन । तिमीहरूको ढुक्क आनन्दको अवस्था छ, जसरी लाग्दा पनि हुन्छ । तर, हामी त धेरै खटिनुपर्ने स्थिति छ, यस्तो वेला म आफैँलाई अल्लि सञ्चो पनि छैन ।’ त्यसपछि सायद उहाँ चितवन पनि जानुभएन । उहाँ पार्टी अध्यक्ष (बुबा)लाई जिताउन धेरै गम्भीर भएर लाग्नुभएको अनुभूति मलाई भएको थियो ।

पार्टी मिलाउने हाम्रा कुरा
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाइएपछि हाम्रो पार्टी अध्यक्ष बालुवाटार जानुभएको थियो । ३–४ घण्टाभन्दा बढी दुई अध्यक्षबीच वार्ता चल्यो । त्यो समयमा हामी दाजुभाइले पनि लामै संवाद गर्‍यौँ । त्यो वेला मैले भनेको थिएँ, ‘दाइ जहिल्यै के यता (बालुवाटार) भेटघाट, उता (बालकोट) भेटघाट । बुढाहरू (केपी र प्रचण्ड)लाई पनि जहिल्यै तनाव । विचार मिलिहाल्छ । केही–केही मिलाउनुपर्ने व्यावहारिक पाटोहरू होलान्, तर माओवादी र एमाले भनेर अब सधैँ किन रहिरहनुप¥यो र ? एक हुने विषयमा तपाईं अध्यक्ष (बुबा)सँग कुरा गर्नुहुन्न कि क्या हो ? अब त अघि बढ्न ढिलाइ भइसक्यो नि !’

उहाँले त्यतिवेला जवाफ दिनुभयो, ‘मैले भनिराखेकै छु, बुबाको एकीकरण गर्ने नै सोच छ । तर, हाम्रो पार्टीमा पनि भनेजस्तो परिस्थिति बनिसकेको छैन, त्यसैले उहाँले खोइ के सोचिराख्नुभएको छ ?’

यस्ता कुराले बढी चिन्तित
प्रचण्ड कमरेड प्रधानमन्त्री भएकै वेला राष्ट्रपतिबाट उहाँलाई पदक वितरण गर्ने कुरामा मिडिया र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आए । उहाँ धेरै गम्भीर बन्नुभएको थियो । उहाँले मसँग धेरै दुःख बिसाउनुभयो । उहाँले भन्नुभएको थियो– बुबाले गर्नुभएको राजनीतिमा त मैले सहजीकरण मात्रै गरिरहेको छु । धेरै राजनीति गरेर मन्त्री हुन्छु भनेर मैले कहिल्यै सोचेको पनि छैन । तर भाइ, ममाथि किन यति धेरै आक्रमण ? के तिमीलाई पनि यस्तै आक्रमण हुन्छ ?

पारिवारिक विषयमा भने हामीबीच धेरै छलफल हुन पाएन । समय छोटो भयो । यद्यपि, उहाँले एक दिन दुई परिवार घुम्न जाने प्रस्ताव राख्नुभएको थियो । दुवैको सल्लाहअनुसार कतै सपरिवार घुम्न जाने योजना पनि नबनेको होइन । तर, समयको चापले सम्भव भएन ।

जब सुनेँ  निधन भएको खबर
गत शनिबार हामी दमकमा धेरै व्यस्त थियौँ । दिनभरको थकानपछि राति १ बजे म मोबाइलको स्विच अफ गरेर सुतेको थिएँ । आइतबार बिहान ६ः३० मा उठेपछि अन गरेँ । लगत्तै अध्यक्ष दमक निवासबाट निस्किन लाग्नुभएको खबर आयो । अनि, हतार–हतार निस्कएँ । अध्यक्ष निस्किसकेकाले म गाडी ‘फलो’गर्दै गएँ । १०–१५ मिनेटकै बीचमा मोबाइलमा निरन्तर सूचना केन्द्रहरूबाट फोन आयो । अध्यक्ष पूर्वनिर्धारित सेड्युलविपरीत हिँड्नुभएको र निरन्तर फोनमा घण्टी बजेका कारण वाम गठबन्धनमा कतै निकै ठूलो समस्या पो आयो कि भन्ने लागिरहेको थियो ।

सीधै अस्पतालमा पुगेपछि कोठामा प्रचण्ड कमरेड बीचको कुर्चीमा बसिरहनुभएको थियो, छेवैमा अध्यक्ष र दमकका केही साथीहरू वरिपरि हुनुहुन्थ्यो । एक्कासि प्रचण्ड कमरेडलाई निरास र आत्तिएको ‘मुड’मा देखेँ । उहाँले हतास मुद्रामा भन्नुभो– म त कसैगरी चित्त बुझाउँला, तर अब म्याडमको चित्त कसरी बुझाउने हो ? प्रकाश दाइ नरहेको खबर सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ ।

नेताका सहयोगीमध्ये प्रकाश पहिलो नम्बरमा

गोविन्द परियार
प्रधानमन्त्री शेरबहादुर देउवाका
वरिष्ठ सञ्चारविज्ञ

प्रकाश दाहालसँग मेरो सम्बन्ध पत्रकारिता गर्दादेखिकै हो । त्यतिखेर म पत्रिकामा काम गर्थें । प्रकाशबाट धेरै सूचना लिएँ । पेसागतबाहेक व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो । फेसबुक च्याटमा मेरो जिज्ञासाको जवाफ दिएकै हुन्थे ।

प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनी स्वकीय सचिव थिए । उनले सजिलै पहुँच दिन्थे । मेरो नजरमा पत्रकार र प्रविधिप्रेमी थिए, प्रकाश ।

जब, म प्रधानमन्त्री शेरबहादुर देउवाको वरिष्ठ प्रेसविज्ञ भएर प्रधानमन्त्री कार्यालयमा आएँ, त्यसपछि हामीबीच सूचना आदान–प्रदान बाक्लो रूपमा भयो ।

केही समयअघिसम्म कांग्रेस–माओवादीको ‘कोलिसन’ सरकार भएकाले पनि सत्तारुढ दलका शीर्ष नेताका सहयोगीका रूपमा सम्पर्क भइरहन्थ्यो ।

मैले चिनेको प्रकाश निकै साधारण थिए । लवाइ, खुवाइ र बोली व्यवहार सबै साधारण । उनीसँग निकट हुनुअघि र निकट भएपछि मैले सोच्ने प्रकाशमा धेरै भिन्नता पाएँ । साधारण व्यक्तित्व र ‘पब्लिक रिलेसन’ उनको सबैभन्दा राम्रो गुण थियो ।

सबैसँग सम्बन्ध बनाउन सक्ने खुबी थियो । शीर्ष नेताका सहयोगीहरूमध्ये यो मामलामा उनी पहिलो नम्बरमै थिए । नेताको सचिवालय सम्हाल्ने राम्रो व्यवस्थापक
थिए, प्रकाश ।

बन्दुक चलाउन प्रकाशबाटै सिकेँ

विश्वदीप पाण्डे
डा. बाबुराम भट्टराईका स्वकीय सचिव

भुल्नै नसक्ने ती यादहरू
प्रकाश दाहालसँग मेरो भेट ०६० मा दिल्लीमा भएको हो । उनी अध्यक्ष प्रचण्डको हेडक्वार्टरमा बस्थे भने म डा. बाबुराम भट्टराईसँग । साथीभाइ भेट्दा घुलमिल हुने र रमाइलो गर्ने प्रकाशको बानी थियो । निकै फरासिला मान्छे ।

भूमिगतकालमै भारतको नोयडामा बस्दा हाम्रो बसाइ पनि नजिक–नजिक थियो । त्यो वेला हामी दुईजना वेलावेला फिल्म हेर्न जान्थ्यौँ । कहिलेकाहीँ नेपालीको ठेलामा मःम खान पुग्थ्यौँ । असुरक्षाका कारण हामी लुकेर मःम खान्थ्यौँ । ती यादहरू अहिले पनि झल्झली आउँछ ।

त्यस्ता थिएनन् प्रकाश
सानैमा जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक शिक्षा लिन पाएनन् । परिवार नै भूमिगत भएको थियो । बस्ने ठाउँ फेरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो । औपचारिक अध्ययनमा कमी भए पनि विचारमा उनी उच्च थिए । मैले जति संगत गरेँ, उनमा कुनै खराबी पाइनँ ।

शान्ति प्रक्रियामा आएपछि केही विवादमा मुछिए । तर, उनी खराब मान्छे होइनन् । बरु, सफा मन र सोझो व्यहोराका थिए । इमानदार प्रकाशको सोझोपनको फाइदा केहीले उठाएकाले बिगार्ने कोसिस भने गरेकै हुन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाशले निकै मिहिनेतका साथ काम गरे । उनकै मिहिनेतका कारण प्रचण्ड नेतृत्वको सरकार सफल पनि भयो । मेरा बुबा भक्तिप्रसाद पाण्डेको निधन हुनुअघि प्रकाशले निकै सहयोग गरे । त्यो गुन म जीवनभर कहिल्यै बिर्सिन सक्दिनँ ।

प्राविधिक पाटोमा अब्बल
सानैमा माओवादी जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक रूपमा धेरै पढ्न पाएनन् । परिवारका सबै सदस्य भूमिगत भएपछि चितवनको घरमा बस्ने अवस्था सुरक्षाको दृष्टिकोणले निकै पेचिलो थियो । ठाउँहरू फरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो ।

तर, प्राविधिक विषय, जनसम्पर्क निर्माणलगायत पाटोमा उनी निकै अब्बल थिए । उनको निधनले माओवादी अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी क्षति पुग्नेछ । माओवादी पार्टीलाई पनि अपूरणीय क्षति पुर्‍याउनेछ । उनमा प्राविधिक विषयमा रुचि र दक्षता दुवै थियो । पछिल्लो समय प्रचण्डका विभिन्न कार्यक्रमको फेसबुक लाइभ गरेर होस् या सचिवालयमा रहेर गरेका काम प्रशंसनीय र अनुकरणीय छन् ।

प्रचण्ड–बाबुराम मिलाउने प्रयास
पछिल्लो समय प्रचण्ड र बाबुरामबीच निकै अन्तरविरोध चुलियो । बाबुरामले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति गठन गरेपछि उहाँहरूबीचको दूरी निकै टाढा भयो । हामीबीच पनि सम्बन्धमा दरार पैदा होलाजस्तो भयो । प्रचण्ड र बाबुराम फरक–फरक रहेर हुँदैन भन्ने निष्कर्षमा पछिल्लो समय हामी दुवै पुगेका थियौँ । सामाजिक सञ्जालकै माध्यमबाट हामीले मिलाउने प्रयत्न गरिरहेका थियौँ । उहाँहरूलाई मिलाउने कामको पुल बनिरहेका थियौँ । अफसोच ! दुईजनाले गरिरहेको यो काम अधुरै रहन गयो । प्रकाशको असामयिक निधनले प्रचण्ड र बाबुराम मिलाउने काममा अपूरणीय क्षति पुगेको छ ।

०६० मा पहिलोपटक आपसमा भेट भएका हाम्रो सम्बन्ध अन्त्यसम्म नै राम्रो रह्यो । विभिन्न मोडमा जनयुद्धदेखि नै प्रचण्ड र बाबुरामबीच वैचारिक विवाद हुँदै आयो । अहिले त फरक पार्टीमै हुनुहुन्छ । तर, नेताको द्वन्द्वले हाम्रो व्यक्तिगत सम्बन्धमा कहिल्यै दरार निम्त्याएन।

हतियार चलाउन उत्तिकै निपुण
जनयुद्धको समयमा ठूला नेताको सुरक्षार्थ पनि हतियार चलाउनुपर्ने भयो । तर, सुरुमा मलाई हतियारसम्बन्धी ज्ञान नै थिएन । मलाई हतियार खेलाउन सिकाउने गुरु प्रकाश नै थिए । उनी सबै प्रकारका हतियार चलाउन जान्दथे । प्रकाश प्राविधिक विषयमा निकै जान्ने भएकाले पनि नयाँ–नयाँ प्रकारका हतियार पाउनेबित्तिकै मलाई पनि चलाउन सिकाउँथे । म पनि निकै चाख मानेर सिक्थेँ ।

युद्धकालीन समयमा माओवादीका नेताहरूले स्याटेलाइट फोन चलाउँथे । मलाई त्यो फोन चलाउन आउँदैन थियो । हामी निकै मिल्ने साथी थियौँ । त्यसैले पनि उनले मलाई स्याटेलाइट फोन चलाउन सिकाएका थिए ।

तपाईको प्रतिक्रिया