जनताको शासन भन्ने बुझिन्छ । लोकतन्त्रमा जनता नै सबैभन्दा माथि हुन्छन् ।
eNaya Patrika
  • ePaper

लोकतन्त्रको मेरुदण्ड : आर्थिक समृद्धि

सर्वमान्य परिभाषाअनुसार लोकतन्त्र भन्नाले ‘जनताद्वारा, जनताका लागि गरिने जनताको शासन भन्ने बुझिन्छ । लोकतन्त्रमा जनता नै सबैभन्दा माथि हुन्छन् । जनताको आदेशविना लोकतन्त्रमा कुनै पनि काम गर्न सम्भव छैन । लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको समानता र स्वतन्त्रता नै हो । कानुनको नजरमा देशभरका सम्पूर्ण नागरिक बराबर हुन्छन् र राज्यशक्तिमा सबैको समान पहुँच हुन्छ ।

उदयशमशेर राणा

लोकतन्त्र मात्रै त्यस्तो व्यवस्था हो, जसमा संविधानमा तोकेरै स्वतन्त्रता उपभोग गर्न पाउने ग्यारेन्टी गरिएको हुन्छ । लोकतान्त्रिक व्यवस्थामा मात्रै व्यक्तिले आत्मसम्मान महसुस गर्न पाउँछ । त्यति मात्र होइन, लोकतन्त्रमा सबैखाले श्रमको सम्मान हुन्छ । देशका हरेक नागरिकलाई बराबर अधिकार प्रदान गर्दै लोकतन्त्रले आत्मसम्मानको प्रत्याभूति गरेको पाइन्छ । देशको अर्थतन्त्रको समृद्धिका लागि विकास जरुरी हुन्छ । विकासका लागि देशमा सुशासन अनिवार्य हुन्छ । सुशासन र आर्थिक स्वतन्त्रताले मात्रै कुनै पनि मुलुकलाई विकासको गतिमा अघि बढाउन सक्छ ।

अधिकांश युरोपेली तथा अमेरिकी राष्ट्रहरू विकसित हुनुको प्रमुख आधार नै त्यहाँको लोकतन्त्र हो । जनताको हातमा शासनसत्ता नभएका मुलुकमा आर्थिक समृद्धि सम्भव छैन । साम्यवादी व्यवस्थालाई अंगीकार गरेका अधिकांश मुलुक गरिबीको चपेटामा छन् । हातको औँलामा गन्न सकिने कतिपय साम्यवादी मुलुक अर्थतन्त्रको दृष्टिले मजबुत भनिए पनि ती देशमा नागरिकको पहुँचमा देशको अर्थतन्त्र छैन । ती देशका नागरिकले शासकले तोकिदिएका काम गर्छन् र तिनै शासकले अड्कलेर दिएको दुई छाक खाना खान्छन्, शासकले तोकिदिएको लुगा लगाउँछन् र शासककै मर्जीअनुसारको आवासमा वास बस्छन् ।

त्यसकारण साम्यवादमा व्यक्तिलाई आत्मनिर्णयको अधिकार हुँदैन । आत्मसम्मानविना कसैले पनि मन लगाएर काम गर्न सक्दैन र त्यसले समग्र देशको विकासलाई नै असर गर्छ । व्यक्तिको बौद्धिक तथा शारीरिक क्षमताको कदर नभएपछि कुनै पनि मुलुक आर्थिक समृद्धिमा पछि पर्नु स्वाभाविकै हो ।
०००
नेपाल एक विकासोन्मुख मुलुक हो । अधिकांश जनता कृषिमा निर्भर भएका कारण नेपाललाई कृषिप्रधान देश भनिन्छ । परम्परागत कृषिका कारण देशमा उत्पादन भएको उब्जनीले मात्रै यहाँका जनतालाई खान पुग्ने अवस्था छैन । प्रतिकूल भूबनोटका कारण मनग्य उब्जनी नहुनु र उत्पादन भएका सामग्रीले पनि उचित बजार नपाउँदा कृषिबाट मात्र देशको अर्थतन्त्र मजबुत हुन नसकेको हो । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्नु अहिलेको आवश्यकता हो । त्यसका लागि देशमा स्थिर लोकतान्त्रिक सरकार आवश्यक छ । देशमा स्थिर लोकतान्त्रिक सरकार भयो भने मात्रै नागरिकले स्वस्फुर्त रूपमा आफ्नो रोजाइको व्यवसाय गरेर देशमा समृद्धिको नक्सा कोर्न सक्नेछन् ।

अरूको करकापमा गरिएको काममा भन्दा आफ्नै इच्छाअनुसार गरिएको कामले अधिक फल दिन्छ । व्यक्ति–व्यक्तिको व्यावसायिक सफलताले नै राष्ट्रलाई प्रगतिको दिशामा अघि बढाउन सक्छ । यसका लागि लोकतन्त्र अपरिहार्य छ । लोकतन्त्रविना वैयक्तिक स्वतन्त्रता सम्भव छैन । वैयक्तिक स्वतन्त्रताविना विकास पनि सम्भव छैन । त्यसैले लोकतन्त्र र विकास एक–अर्काका पर्याय हुन् ।
०००
गत स्थानीय निर्वाचनपछि नेपालका दुई ठूला कम्युनिस्ट पार्टीले ‘गठबन्धन’ बनाए । जसका कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परिरहेको देखिन्छ । गठबन्धन निर्माणलगत्तै ओरालो लागेको नेप्से अहिलेसम्म पनि अधोगतितिरै उन्मुख छ । कम्युनिस्ट गठबन्धन निर्माण र त्यसले पार्ने दूरगामी असरका कारण ठूला लगानीकर्ता हच्किएका छन् । यदि आगामी निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको गठबन्धनले जित्यो भने ठूला लगानीकर्ता सबैले हात झिक्नेछन् र देश अझै गरिबीतिर उन्मुख हुनेमा द्विविधा छैन ।

अन्तर्राष्ट्रिय लगानीकर्ता र दातृनिकायको सहयोग र समर्थनविना नेपालको विकास असम्भवप्रायः छ । एकातिर राष्ट्रिय लगानीकर्ताले ठुल्ठूला योजनाबाट हात झिक्ने, अर्कातर्फ अन्तर्राष्ट्रिय लगानीकर्ता पनि बिच्किने अवस्थाले नेपाललाई झन्भन्दा झन् गरिब बनाउँदै लैजाने स्थिति पैदा भएको छ । नेपालका कम्युनिस्ट पार्टीको एकताले ठुल्ठूला उद्योगी व्यापारीलाई पनि झस्काइरहेको छ । कम्युनिस्ट गठबन्धनका कारण आफूले दुःख गरेर कमाएको सम्पत्तिको सुरक्षा हुँदैन भन्ने उनीहरूको निष्कर्ष छ । उद्योगी–व्यापारीमा आएको निराशाजनक अवस्थाले लाखौँको संख्यामा काम गरिरहेका मजदुरको रोजगारी पनि गुम्ने हो कि भन्ने डर छ । झट्ट हेर्दा व्यवसायीले आफ्नो आर्थिक उन्नतिका लागि उद्योग व्यवसाय चलाएको देखिए पनि उनीहरूले नेपालभित्रका लाखौँ नागरिकलाई रोजगारी दिएर उनीहरूको परिवारको रोजीरोटी धानेका छन् । व्यवसायीहरू नेपालबाट पलायन भए भने उनीहरूले रोजगारी दिएका लाखौँ जनता गरिबी र भोकमरीको चपेटामा पर्ने निश्चित छ ।
०००
देशको आर्थिक विपन्नताका कारण लाखौँ नेपाली वैदेशिक रोजगारीमा जान बाध्य छन् । यदि नेपालमा कम्युनिस्टहरूको एकतन्त्रीय शासन आयो भने अहिले नेपालमै काम गरिरहेका जनता पनि रोजगारीको खोजीमा खाडी र अरब राष्ट्रका मरुभूमिमा जान बाध्य हुनेछन् । ती राष्ट्रले पनि कम्युनिस्ट शासन भएका मुलुकबाट कामदार नलिने सम्भावना हुन्छ ।

युरोपेली–अमेरिकी राष्ट्रले त झनै कम्युनिस्ट मुलुकका नागरिकलाई सकेसम्म उनीहरूको देशमा प्रवेश नै दिँदैनन् । अनि नेपालीमा रोग, भोक, अशान्ति र भयले डेरा जमाउने स्थिति पैदा हुन्छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले आफ्नो घोषणापत्रमा ‘आर्थिक समृद्धिको संकल्प’ सार्वजनिक गरेको छ । उच्च र फराकिलो आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानको नेतृत्व कांग्रेसले गर्नेछ ।

आगामी पाँच वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब रुपैयाँ पुर्‍याउने योजना कांग्रेसको छ । सम्पूर्ण नेपालीको वार्षिक प्रतिव्यक्ति आय एक लाख ५० हजारभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा कांग्रेस अग्रसर छ । अहिलेकै अवस्थामा सो लक्ष्यमा पुग्न कठिन देखिए पनि कांग्रेस नेतृत्वको स्थायी लोकतान्त्रिक सरकार निर्माणपछि मात्रै यो सम्भव छ । विदेशी तथा स्वदेशी लगानीमा ठूला आयोजना सम्पन्न गरी पर्याप्त रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्र मजबुत बनाउने काममा कांग्रेस कटिबद्ध छ । नीतिगत सुधार, स्वदेशी तथा विदेशी पुँजीको परिचालन, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति कांग्रेसको विजयमा मात्रै सुनिश्चित छ ।
०००
ज्ञान, अनुभव, विवेक र अन्तर्राष्ट्रिय विश्वसनीयताका आधारमा नेपालको अर्थतन्त्रलाई दूरगामी सम्पन्नताको बाटोमा हिँडाउन सक्ने क्षमता कांग्रेसबाहेक अरू कुनै पनि दलस“ग छैन । आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने कांग्रेसको संकल्प छ ।

कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्मको आर्थिक वृद्धिदर निरन्तर हासिल गर्दै हरेक वर्ष तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न कांग्रेस प्रतिबद्ध छ । सो उद्देश्य पूर्र्तिका लागि उपयुक्त आन्तरिक तथा बाह्य लगानीको वातावरण कांग्रेसको सरकारले मात्रै बनाउन सक्छ । नयाँ आर्थिक अवसरको पहिचान, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानका रूपमा अगाडि बढाउने, युवा तथा महिला उद्यमी परिचालन, कृषि आधुनिकीकरण, पर्यटन विकास, उद्योगको द्रुत विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

यातायात, ऊर्जा, सडक, सिँचाइ, कृषि, पर्यटनलगायत भौतिक पूर्वाधारको विकास, हरित सहर, स्मार्ट सहर, सांस्कृतिक सहर, ऐतिहासिक सहर विकसित गर्ने विषय कांग्रेसको प्राथमिकताको विषय हो । निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, एक गाउँ : एक उत्पादन तथा एक नगर : एक कार्यक्रमलाई जोड दिई विशेष प्रकृतिको कृषि प्रसार सेवा विस्तार गर्नेलगायत विषयमा कांग्रेसले जोड दिएको छ ।
०००
उग्र वामपन्थीको नेतृत्वमा नेपाल पुग्यो भने यी सबै सम्भावनाको अन्त्य हुन सक्छ । यसलाई सम्भव पार्ने जिम्मेवारी फेरि आमनेपाली नागरिकको हातमा आइपुगेको छ । कम्युनिस्ट अतिवादमार्फत मुलुकलाई अधिनायकवादतर्फ धकेल्ने कि आर्थिक समृद्धिसहितको लोकतान्त्रिक मुलुकका रूपमा अघि बढाउने भन्ने निर्णय नेपाली जनताले अबको महिना दिनभित्रै गर्नेछन् । आशा गरौँ, जनताको मत लोकतन्त्र र विकासको पक्षमा हुनेछ न कि अधिनायकवादको ।
(कांग्रेस नेता राणा अर्थराज्यमन्त्री हुन्)

तपाईको प्रतिक्रिया