मुगाबेको निर्णयपछि देशभरका लाखौँ जनता सडकमा आएका छन् ।
eNaya Patrika
  • ePaper

मुगाबे जिम्बाबेका नायक या खलनायक ?

जिम्बाबेको संसद्का सभामुखले राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अचानक आएको राजीनामापछि उनीविरुद्ध सुरु गरिएको महाभियोगको कारबाही स्थगित गरिएको छ । मुगाबेको निर्णयपछि देशभरका लाखौँ जनता सडकमा आएका छन् ।

मुगाबेको जिम्बाबे
विगत ३७ वर्षदेखि रोबर्ट मुगाबे र जिम्बाबे एकअर्काका पर्याय रहेका थिए । केही मानिसका लागि त मुगाबे तमाम विवादका बाबजुद एक नायक हुन्, जसले देशलाई स्वतन्त्रता दिलाए । यहाँसम्म कि उनलाई सत्ताबाट हटाउनेहरूले पनि मुगाबेलाई भन्दा उनकी पत्नी तथा उनका निकटस्थलाई बढी आरोप लगाएका छन् । तर, उनका आलोचकको संख्या विगत केही वर्षदेखि लगातार बढ्दै गएको छ । उनीहरू मुगाबेलाई सत्तामा अडिन हरप्रकारका तिकडम अपनाउने एक अफ्रिकी तानाशाह लाग्थे, जसले आफ्नो कुर्सी जोगाउन पूरै देशलाई बर्बाद पारे ।

मुगाबेराजमा जिम्बाबेमा शिक्षाको खुब प्रसार भयो । यस अवधिमा देशको साक्षरता दर ८९ प्रतिशत पुग्यो, जुन कुनै पनि अफ्रिकी देशको भन्दा बढी हो ।

सेनाको असन्तुष्टि
अन्त्यमा त्यही सेना मुगाबेविरुद्ध भयो, जसको सहारामा उनले वर्षौंसम्म विपक्षी तथा विरोधीमाथि नियन्त्रण गरिरहेका थिए । मुगाबेले लामो समयदेखि आफ्नो सहयोगी रहेका इमर्सन मनंगवालाई उपराष्ट्रपति पदबाट बर्खास्त गरेपछि सेना उनीदेखि चिढिएको थियो । सायद सेनालाई मुगाबेले आफ्नी पत्नीलाई सत्ता सुम्पिन खोजेको आशंका पनि थियो । आफ्नो जीवनमा कैयौँ संकटबाट माथि उठेर सत्तामा टिकिरहन सफल मुगाबेका लागि ९३ वर्षको उमेरमा आफ्ना पुराना सहयोगीको सहयोग यथावत् राख्न असम्भवजस्तै हुँदै गएको थियो ।

२००८ को निर्वाचनअघि मुगाबेले भनेका थिए– निर्वाचन हार्नुभयो भने तपाईं राजनीतिबाट पछि हट्नुपर्छ । तर, मोर्गन स्वांगिराईबाट पराजित भएपछि भने उनी आफ्नो भनाइबाट पछि हटेका मात्र होइन, आफूलाई सिर्फ ईश्वरले मात्र सत्ताबाट हटाउन सक्ने घोषणा गरे ।

आर्थिक मुद्दामाथि सवाल
३७ वर्षसम्म सत्तामा टिकिरहँदा पनि मुगाबेको संसारप्रतिको हेराइ १९७० मा जस्तो थियोे । उनलाई लाग्थ्यो कि उनको सोसलिस्ट पार्टी जानु पिएफ अझै पनि पुँजीवाद तथा उपनिवेशवादसित लडिरहेको छ । उनी छापामार युद्धको क्रममा जस्तै हरेक आलोचकलाई तुरुन्तै गद्दारको आरोप लगाउने गर्थे । जिम्बाबेको कमजोर अवस्थाका लागि उनी जहिल्यै पश्चिमी शक्तिलाई जिम्मेवार ठहर्‍याउने गर्थे । तर, उनका आलोचकको भनाइ थियो कि मुगाबेलाई देशको आधुनिक अर्थ व्यवस्था कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुनै ज्ञान नै छैन ।

सेना र मिडियाको उपयोग
२००० को जनमत संग्रहमा प्राप्त हार होस् या २००८ मा राष्ट्रपति निर्वाचनको पहिलो चरणमा प्राप्त हार, मुगाबेले हरेकपटक सुरक्षा निकाय र सरकारी मिडियालाई आफ्नो स्वार्थका लागि उपयोग गरे । आफ्नो सत्ताका विरोधीप्रति मुगाबेको व्यवहार १९८० मै देखिन थालेको थियो । त्यतिखेर उनले उत्तर कोरियामा प्रशिक्षित सेनाको एक ब्रिगेडलाई आफ्ना विरोधी जोसुआ एनकोमोको क्षेत्रमा पठाएका थिए ।

अफ्रिकामा सबैभन्दा बढी साक्षरता
मुगाबे राजमा जिम्बाबेमा शिक्षाको खुब प्रसार भयो । यस अवधिमा देशको साक्षरता दर ८९ प्रतिशत पुग्यो, जुन कुनै पनि अफ्रिकी देशको भन्दा बढी हो । एक टिप्पणीकारले भनेका थिए कि शिक्षाको प्रसार गरेर मुगाबेले आफ्नो चिहान आफैँ खनिरहेका छन् । मुगाबे प्रायः भन्ने गर्थे कि उनी देशका गरिबको हकका लागि लडिरहेका छन् । तर, उनले जो ठूला जमिनदारबाट जमिन जफत गरे, त्यो उनका निकटस्थलाई प्राप्त भयो । आर्कबिसप डेसमन्ड टुटूले एकपटक भनेका थिए– जिम्बाबेका राष्ट्रपति एक कार्टुन बनेका छन् ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डट कमबाट

तपाईको प्रतिक्रिया